भारतविरुद्ध नेपालको शीतयुद्व!

भारत प्रशासित कश्मीरको पुलावामामा भएको आतंकवादी आक्रमणपछि दक्षिण एशियाको माहोल तातिरहेका बेला भारतले पाकिस्तानविरुद्ध कुटनीतिक तथा अन्य कदम चाल्न थालेको छ । त्यसमध्ये भारतले सिन्धु नदीको पूर्वीबाट पाकिस्तानतर्फ बग्ने तीन नदिको पानीको आयतनलाई कम गरेको छ । त्यस्तै भारतको पक्षमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले पुलावामा आक्रमणको जिम्मा लिएको पाकिस्तानमा सक्रिय जैश ए मोहम्मदका नेता मसुद अजहरलाई कारबाही गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । यसबाट भारतले पाकिस्तानमाथि विभिन्न तवरबाट दबाब दिइरहेको प्रतीत हुन्छ ।

भारतले पाकिस्तानबाट आयात गर्ने सामानहरुमा भारी भन्सार पनि बढाइदिएको छ भने पाकिस्तानबाट आउने अन्य सामग्रीको आयातमा पनि रोक लगाएको छ । पाकिस्तानविरुद्ध भारतका सामान्य व्यापारी तथा किसानहरु पनि खनिएका छन् । गुजरातबाट पाकिस्ताननर्फ निर्यात हुने तरकारी खासगरी टमाटरको निर्यात ठप्पप्रायः भएकाले पाकिस्तानमा टमाटरको मूल्य २० रुपैयाँबाट सय रुपैयाँ प्रतिकेजी भन्दा माथि पुगेको छ ।

कश्मीरमा ४० जनाभन्दा धेरै सीआरपीएफका अर्धसैनिकको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणपछि नेपालले दुःख त व्यक्त गर्यो तर आक्रमणकारी संगठन र त्यसका नेताविरुद्ध कारबाहीका लागि चाहिँ नेपालको कुटनीतिक क्षेत्रबाट आवाज उठेन । न त नेपालका प्रधानमन्त्रीले ट्वीटमार्फत् यस विषयको उठान गर्नुभयो, न त नेपाल सरकारको आधिकारिक वक्तव्यमा नै आतंकवादी संगठन र त्यसका नेतालाई कारबाहीको कुरा उठ्यो ।

राष्ट्रसंघले आतंकवादीलाई कारबाही गर भन्न सक्ने तर राष्ट्रसंघको जिम्मेवार सदस्य राष्ट्र नेपालले राष्ट्रसंघ सुरक्षा परिषद्ले भनेको कुरा पनि भन्न नसक्ने ? यो कुटनीतिक असावधानी हो कि हाम्रो कुटनीतिको लाइन नै यही हो ? कुटनीतिको लाइन नै यही हो भने भोलि हामी धेरै अफ्ठ्यारो परिस्थितिमा फस्न सक्छौँ । भारतविरुद्धको मोर्चाबन्दी नै हाम्रो अहिलेको कुटनीतिको लाइन हो भने त्यो प्रष्ट हुनुपर्छ । कतै यो भारतविरुद्ध शीतयुद्धको घोषणा त होइन नेपालको ?

नेपालले आतंकवादी आक्रमणको जिम्मा लिने संगठन र त्यसका नेतालाई संसारको जुनसुकै राष्ट्रमा भएपनि उमाथि कानूनसम्मत कारबाही हुनुपर्छ भनेर भन्न सक्नुपर्थो । जैश ए मोहम्मदका नेता मसुद अजहरलाई कारबाहीको माग गर्न नेपाल सरकालाई किन अफ्ठ्यारो ? जैश ए मोहम्मदले नेपालबाटै सन् १९९९ मा जहाज अपहरण गरी अफगानिस्तानको कन्दाहार पुर्‍याएर जहाजका यात्रुसित सट्टापट्टा गरेर भारत सरकारले मसुद अजहरलाई रिहा गरेको थियो ।

आज त्यही आतंकवादीले यस्तो आक्रमण गर्दा त्यसैलाई हामी कारबाहीको माग गर्न अफ्ठ्यारो मान्छौँ भने हाम्रो कुटनीति लाइन के हो ? गम्भीर सवाल खडा भएको छ । नेपाल सरकारले आतंकवादी संगठनलाई कारबाहीको माग गर्न नसक्दा कुनै न कुनै रुपमा हामी आतंकवादी संगठनसँग उभिएका त छैनौँ भन्ने संकेत जान्छ ।

Source: https://www.khabarhub.com/2019/26/8080/?fbclid