LILA GHANTESHWOR RAJGURU GHARANA

लीलानटेश्वर राजगुरुघराना
अरुणकुमार सुवेदी
लीलानटेश्वर राजगुरुघराना अर्थात एलएन राजगुरुघराना, अवकाश प्राप्त ‘अफिसर’ राजदरवार सेवा । उहाँले आफ्नो परिचय यसरी दिनुभयो । ‘दिनुभयो’ यो शब्द हल्का प¥यो । काठमाडौंका नम्बरी ब्राह्मणको घरमा डेरा लिने सुरकसेपछि यो पाखे शब्दलाई ‘दिइस्यो’ वा ‘दिइबक्स्यो’ भनी परिमार्जन गर्नैपर्ने कुरा रामप्रसादलाई राम्ररी थाहा भयो । एक किसिमले रामप्रसादको चेत खुल्यो, भनौं यी एलए

न र
ाजगुरुघरानाको आफ्नो परिचय दिने शैली र बोलीको ओजले । घर बताइरहनु परेन, काठमाडौं डिल्लीबजार अझ काठमाडौं महानगरपालिका ३२ भनौं यस महानगरपालिकाको पदावलीले पनि गर्व थपेको छ राजगुरुघरानाको ठेगानामा ।
काठमाडौंको यथार्थ के छ भने, आवरणले जति ढाक्न खोजे पनि एकै छिनमा धरातलमा ओर्लिहाल्छन् यहाँका घरानियाहरु । सडकमा खोक्रो धमास जति पिटे पनि मसान्तका दिन बहालमा बस्नेको ढोका ढक्ढक्याएर संक्रान्तिका दिन पसलको वक्यौता बुझाई सुटुक्क ६०ः४० को बासमति चामल ल्याएर भए पनि मिठो मसिनो खानुपर्ने बाध्यता पनि काठमाडुवासीलाई छ नै । यसर्थ धरातलमा न ओर्ली धरै छैन । बल्ल कुरा सुरु भयो ।
‘भन त के रे तिम्रो नाम अँ रामप्रसाद ‘कमन’ पहाडिया नाम के निणय ग¥र्यौ त ? बहाल ३५ सय पर्दछ ।’
रामप्रसादलाई लाग्यो तीन हजार पाँचसय अलि बढी नै भयो । त्यो पनि काठमाडौंमा यस्तो मन्दी भएको बखत । रामप्रसादले प्रत्युत्तर दिन नपाउँदै फरक फाइदाहरुको विस्तार सुनाए एलएन राजगुरु घरानाज्यूले– हेर बाबु ! तिमी पहाडको गाउँबाट काठमाडौं आएर यहाँको जीवनमा भर्खर परिचित हुँदै गरेको मान्छे । विद्यार्थी कालको त के कुरा भयो र हावामै जान्छ । यसर्थ संगत र सम्बन्धको बारेमा प्राथमिकता पूर्वक सोच्नु पर्दछ । यसै पनि एलएन राजगुरुघरानाको घरमा बसेको छु भन्ने वित्तिकै तिम्रो इज्जत नै फरक पर्दछ । संगत पनि त्यस्तै पाउँछौं । हामी भनेका द्रव्य शाहका पालादेखिको राजगुरुघराना हौं । हामीसँग एउटा परम्परा र कुलिनता छ । कुलिनता भनेको वंशको गर्व अनुसार प्राप्त हुने कुरा हो ।एलएनज्यूको यत्रो फरक कथन सुनेपछि बहालमा उसले पुनर्विचारका लागि अनुरोध गर्ने साहसै गरेन । रामप्रसादले संमति सूचक किसिमले टाउको हल्लायो अन्ततः ऊ एलएनजीको घरमा ३५००। बहाल तिर्ने शर्तमा स¥यो । तीन महिनाको भाडा अग्रिम भुक्तानी पनि दियो । अब सुरु हुन्छ एलएन राजगुरुघराना र रामप्रसाद खत्री क्षेत्रीको कथा ।
एलएनजीले एकाबिहानै रामप्रसादको कोठा ढक्ढक्याएकोले एक पटक रामप्रसाद अलि हतास भयो । काठमाडौंमा घरपतिले डेरावालको ढोका ढक्ढक्याउनु भनेको विचरा डेरावालहरुका लागि यसै पनि शुभ संकेत होइन, त्यही माथि एलएन जस्तो गृहस्वामी । रामप्रसादलाई लाग्यो एलएनले तोकेको आचारसंहितामध्ये अन्जानमै भए पनि कुनै भंग भयो होला, काठमाडौंका डेरावालाहरुले घरपतिले तोकेको आचारसंहिता अन्तर्गत रहनुपर्दछ । नत्र आफ्नो तडितुम्वडी कसिहाल्नुपर्छ, रातविरात भन्न पनि पाइन्न । रामप्रसादले स्थितिलाई सहज पार्दै भन्यो – ‘उहाँ एलएन राजगुरुघराना ज्यू, गृहस्वामी ।’ रामप्रसादका दुबै साथीहरुले उठेर नमस्कार गर्दै परिचय दिए ‘हजुर म धनकुटा चौविसको बराल हुँ, म चाहिँ सप्तरीको अर्याल हुँ । धनकुटा चौविसका बराल त विजयपुरका सेन राजाहरुका राजगुरु थिए । पृथ्वीनारायण शाहले विजयपुर फत्ते गरेपछि त्यहाँका सेनराजाहरु सँगै भागेर चौविसतिर पसेका हुन् । ती सेन राजा पनि लिम्बु क्षत्रीय हुन् । ठकुरी क्षत्रीय हैनन् । त्यहाँ ठकुरी सेन नभएर लिम्बु सेनहरु छन् । वास्तवमा तिनीहरु नै त्यहाँका राजवंशहरु हुन् । सप्तरीका अर्यालहरु पनि शक्तिवल्लभ अर्यालका सन्तान हुन् । यी शक्ति बल्लभका पूर्खा पनि द्रव्यशाहका गुरु नारायण अर्जेलका सन्तान हुन् । द्रव्यशाहका पिता लम्जुङगे राजा यशोव्रह्म शाहका पालादेखि दरवारसँग रही शाहरुको सम्बन्धमा रहेर गुरु भई आएकाले पृथ्वीनारायण शाहले त्यहाँ विर्ता दिई पठाएका हुन् । तिमीहरु दुबै जना राजघरानासँग सम्बन्ध भएका वंशवृक्षमा पर्दछौं खुशी लाग्यो । हेर पृथ्वीनारायण शाहबाट किन अर्जेलहरुलाई विर्ता दिई त्यहाँ पठाए यसको पनि ठूलो रहस्य छ…’। रामप्रसादले जान्यो एलएन अविराम बोल्दै जानेछन् । उसले बीचमा बडो सर्तकताका साथ कुरा मोड्यो– ए विभू बाहिर हर्न बज्यो सायद गाडी आइसक्यो तिमीहरु मेरो अफिस गएर निलोफरलाई लिएर यी सामानहरु लिएर आइदेऊ बाँकी सयवटा कार्ड होलान् म आफैं लेख्छु । ए हजुर, मेरो विवाहको कार्य भइरहेको छ । साथीहरु सहयोग गर्न आएका । हजुरको नाममा कार्ड छ । यही टक्र्याउँ कि ?
एलएन– ‘हैन निम्तो घरमै आएर दिनुपर्दछ । माथि आएर देऊ । तिमीसँग अरु कुरा पनि गर्नु पर्नेछ ।’
रामप्रसादका दुबै साथीहरु गाडी लिएर निस्किए । ऊ चाहिँ एलएनको पछिपछि माथिल्लो तला चढ्यो । बैठकमा बस्ने वित्तिकै एलएनलाई सर्वप्रथम कार्ड टक्र्यायो । कार्डको बाहिर ध्यान नदिई पहिले बुढाले कार्ड हेरेर पढे ‘नृसिंहबहादुर वषतीकी सुपुत्री कल्याणमयी वषती । अँ, खान्दान राम्रो भेटेछौं । यी कहाँका वषती परे ?’ ‘पहिलो गोर्खा अरे हाल काठमाडौंमै ।’ उसले जवाफ दियो । ‘हेर रामप्रसाद तिम्रो नाम र थरले यस्तो घरानीया केटी पाउनु ठूलो शौभाग्य हो । गोर्खाका बषतीहरु पृथ्वीनारायणका पालादेखि दरवारसँग सम्बन्धित छन्, वषती, बस्न्यात, थापा, राणाहरु, शाहको छोरी बेटी अरु क्षत्रीयहरुले पाउनु भनेको ठूलो शौभाग्य हो । त्यसमा पनि तिमी त खत्री । हेर नामले नै खान्दानको परिचय दिन्छ । शास्त्रीय नाम राख्न पनि ढंग चाहिन्छ पहाडियाहरुलाई राम, श्याम, लक्ष्मण, हरिभन्दा अरु नाम थाह नै छैन । हेर कल्याणमयी कस्तो कुलिनता झल्कन्छ नामले नै । मेरा छोरीहरुकै नाम हेर जेठी शिखरिणी जसको विवाह डोटेली भट्टसँग भएको छ । ज्वाइको नाम श्वेतकेतु । माइली स्रग्धराको विवाह सुगौली भारतका उपाध्याय सुगौली सन्धि गराउने चन्द्रशेखर उपाध्यायका सन्तान दाहाल हुन् सँग भएको छ, नाम चाहिँ पिप्पलाद । साइली स्रग्वीणी, काइली शालिनी अनि मालिनी र कान्छी मन्दाक्रान्ता ।’ यो प्रसंग टुंग्याउँदा नटुँग्याउँदै एलएनको मुखाकृति एकाएक परिवर्तन भयो र झेक्किदै भने– ‘ए राम प्रसाद मेरो नाम कसरी लेखेको ? रामप्रसादले यसो हे¥यो ठिकै छ लीलानटेश्वराज गुरुघराना ’ होइन के गल्ती भयो र ठिकै छैन र ?’ फेरि एलएन झोकिन्छन्– ‘यी पाखेहरुलाई केही थाहा हुन्न । हेर ! यो राज चाहिँ गुरुघरानासँग जोडिएको हुनुपर्छ । ‘हैन हजुर ! ब्याकरणअनुसार प्रसाद, राज, सिंह, लाल जस्ता बीचका नाम पहिलो नामसँगै जोडिन्छन् नि त ।’ ‘कुल घरानामा जन्मिएको भए पो थाह पाउँथ्यौं । गुरुघराना त सबै व्राह्मणहरु गुरुघराना हुन् । राणाका गुरुघराना दीक्षितहरु, अरु अरु पनि तर राजकुलको गुरुघराना भएकोले यो राजगुरुघराना एकै ठाउँ भएको हो । यसको सम्मान र महिमा पृथक छ । सुन ! यसको पनि एउटा ठूलो कारण छ । हामीहरु वास्तवमा गुरुज्यू खलक राजपाण्डेयहरु हौं ।’ हाम्रा वडाबाले वीरगन्ज तिर कामतमा जाँदा एकजना सोह्र सत्रकी थारुकी छोरीलाई काम चलाउने गर्नुभएको रहेछ । एउटा भाइ त्यहीँबाट जन्मिई हाल्यो । त्यो केटी भई बडीआमा र त्यो पनि राज पाण्डे नै भै हाल्यो । हुँदाहुँदा एउटा बिक पनि राजपाण्डे नै भेटेँ । पक्नाजोलका मेरा तेह्रदिने भाइ छन् एउटी निग्रोलाई नाइजेटियाबाट उठाएर ल्याए बस खिस्तानी वर्णशंकर पनि राज पाण्डेय नै भए । यस करण राजपाण्डेयले त्यो गरिमा धान्न सकेन । यसर्थ मेरा पिताजीले हामी सबैलाई राजगुरुघराना बनाइ लिनुभयो ।’
एलएनजीको बेलिविस्तार अरु लम्बेतान जान्थ्यो होला । तर विचरो हप्ता दिन पछिको बेहुलो रामप्रसादलाई मुक्त हुन हतार भइसकेको थियो । यसर्थ उसले भूलसुधार गर्दै भन्यो, ‘हजुर ! गम्भीर त्रुटी भएछ क्षमा पाऊँ, म अर्कै कार्ड होशियार साथ लेख्नेछु’ । रामप्रसाल निक्लन मात्र लागेको थियो एलएनले फेरि डाकेर भने– ‘रामप्रसाद तिम्रामा मानिस पनि धेरै आउँदा रहेछन् । हामी जस्ता कहाँ त त्यत्रो मानिस आउन्न । अब विवाह गर्दैछौं पानी पनि धेरै प्रयोग हुन्छ आइमाइहरु नछुने हुन्छन्, लुगा धेरै धुन्छन् । अब यो समस्या चाहिँ गमभीर भयो ।’ यो तात्पर्य नभएको कुराको तात्पर्य रामप्रसादलाई थाहा भएन । यसर्थ सम्झौताको विन्दु पनि उसलाई सुझेन तर उसै काठमाडौंको घरपति त्यसमाथि एलएन राजगुरुघराना । ढोकाको संघारमै बसेर उसले सोध्यो के गर्न सकिएला त हजुर ? ‘आजसम्म पानी तान्ने मोटरको प्वाइन्ट माथिबाट प्रयोग भएको थियो उप्रान्त तिम्रो सव मिटरमा उठ्ने गरी तल तिम्रो फ्ल्याटको प्वाइन्ट प्रयोग गर्नुपर्छ ।’ रामप्रसादलाई प्रतिवाद गर्ने फुर्सद र आँट दुबै थिएन । यसर्थ हस् भनेर ऊ तल झ¥यो ।
बेलुका उसका साथीहरु विभु र उत्सव एवम् निलोफरले कपडाहरु, गरगहना, २२ इन्चको टिभी, डेक, रेफ्रिजरेटर, बासिङमसिन, भ्याकम क्लिनर लगायतका सामानहरु लिएर आए । विभु, उत्सव र ड्राइभर सामान ओसार्न थाले, निलोफर सामानहरुको बारेमा र मूल्य भन्न थाली । रामप्रसाद अँ अँ गर्दै निलोफरको कुरा सुनिरहेथ्यो र एलएनजी हरेक सामानको टिप्पणी गरिरहेथे एउटा÷दुईटा शब्दमा । उनले प्रष्ट देखिरहेका थिए, कुनै खोट विनाको सामान नै आएका छैनन् । अन्ततः सम्पूर्ण खरिदको बजेट दुई लाख पचास हजार निलोफरले रामप्रसालाई बिल दिई, बिलको बारेमा चाहिँ एलएनको कुनै टिप्पणी आएन । उनी सरासर माथी चढे ।
रामप्रसादको विवाह भयो । एलएनजी पनि जन्ति गए । नृसिंहबहादुर वषतीको घरको भोजभतेर खाए र विवाहको ढाँचा ढर्रा पनि हेरे । रामप्रसादले दिएको भब्य भोज पनि । एलएनजीको कुलिनता ३÷४ महिनासम्म मौन नै रह्यो । एक दिन फेरि एलएन राजगुरुघरानाजी रामप्रसादको कोठामा आए । घरपति डेरावालको कोठामा आउनु भनेको आफैंमा ठूलो त्राश हो । त्यसको अनुभव भनेको काठमाडौंमा डेरा गरी बस्नेहरुलाई मात्र थाह हुन्छ । रामप्रसादले बढो दबेको श्वरमा भन्यो कल्याणमयी उहाँलाई चिया टक्र्याउ न । अहिले एलएनको कुरा कल्याणमयीतर्फ लक्षित थिए ।
हेर ! कल्याणमयी यी तिम्रा पति रामप्रसाद खत्रीलाई खान्दानिया कुराहरु पनि थाह छैन र काठमाडौंको बारेमा पनि थाहा छैन । यत्रो कोठामा किन २२’’को टिभी चाहियो ? हामीले त १४’’ ले काम चलाउन सक्छौं । काठमाडौंमा फ्रिजको काम नै छैन । यस्तो जाडो ठाउँमा । यसैले हामी राख्दैनौं । यो कुरा थाहै छैन तिम्रा श्रीमान्लाई । तिम्रा माइतिमा पनि त राखेको छैन । २५ वटा च्यानल केवुल अपरेटरले दिइरहेछ, त्यहीबाट अंगे्रजी, हिन्दी सिनेमा देखि लिएर स्पोर्टस सबै आउँछ, डेकको के काम । यो वासिङ मेसिन चलाएपछि त लोड बढेर फ्यूज नै गैहाल्छ । भ्याकुमको भाइबे्रसनले घर र स्वास्थ्य दुबैलाई ठीक गर्दैन । वास्तवमा शहरी सभ्यतामा कसरी बस्ने भन्ने कुरा तिमीले सिकाउनु पर्छ है नानी ।’ एलएनको चिया आइसकेको थियो । उनी चियाँको चुस्की लिँदै अरु कुरा पनि गरिहेका थिए । काठमाडौंको सभ्यता भनौं काठमाडौंको रैथाने हुनुको गर्व पनि अजीव छ । उनीहरुले केही गर्न नसकेको कारणले अरु बाहिरबाट आएकाहरुले पनि केही गर्न हुन्न । बरु त्यहीको रैथाने बनोस् तर अरु दोयम नै रहनु पर्दछ । यो विचित्रको कुण्ठाको सायद औषधी छैन । यही कुण्ठाले काठमाडौं अरु कुण्ठित रुग्ण र भग्न भइरहेछ ।
रामप्रसादलाई थाहा छ कि एलएनको मतलव अरु केही छ । यसर्थ उसले सोध्यो हजुर हामीबाट केही भूल भयो कि ? भूल त धेरै भएका छन् रामप्रसाद, तर एउटा कुरा तिमीले काम गर्ने केटी पनि राख्या छौं, तिम्रो आमा पनि आएकी छन्, श्रीमती पनि सुत्केरी हुनेवाली छिन्, यस कारण पानीको प्रयोगमा ठूलो समस्या आउने भयो । उनको परिवार चारवटी तरुणी छोरी र आमा पाँचवटी आइमाइ भएको छ । यति भन्दा रामप्रसादकी आमाले पानीको समस्या पार्ने काठमाडौंको अनुपात गणित पनि विचित्रको छ । तर घरपतिले भनेपछि त्यो समस्या हो र समाधान हुनुप¥यो । यस कारण रामप्रसादले प्रस्ताव सोच्नैप¥यो समाधानको । किनकी ऊ डेरामा बसेको रामप्रसाद खत्री हो । अब पानीको सबै महशुल रामप्रसादले नै बेहोर्नुपर्छ । यही हो न्यायोचित कुरा । एलएन भनौं काठमाडौंका घरपति जस्तो न्याय प्रवीण दुनियाँमा कोही हुन्न ।
अब रामप्रसादको छोरा भयो । व्यापारमा पनि रामै्र प्रगति भयो । कामको दौडधूप भ्याइ नभ्याइ । रामप्रसादले झारपोथर गरेर एउटा ‘सेकेण्ड ह्याण्ड’ मारुती कार पनि किन्यो । उसकहाँ सांसद, मन्त्रीहरु, नेताहरु पनि प्रसस्त आइरहन्थे । एलएनजी कहाँ रामप्रसाद बसेको पनि करिव दुई वर्ष भइसकेको थियो ।
अचेल घाम ताप्न एलएनजी पनि तल्लै तलाको बाहिर आउने गर्नथाले । प्रायः कुराहरु भइरहन्थ,े तर आज पुनः विशेष कुरा भयो । घरपतिले विशेष कुरा भन्ने वित्तिकै डेरावालको सातो उड्ने गर्दछ । तर रामप्रसादले अब अलि सहजरुपमा लिन थालेको थियो । एलएनले आज अलिक गम्भीर हुँदै भने, तिम्रामा त नेताहरु पनि आउँदा रहेछन् यिनीहरुसँग विशेष सतर्क रहनुपर्दछ नि ! रामप्रसाद प्रजातान्त्रिक आन्दोलनमा जेलनेल खपिसकेको परिपक्व तरुण थियो । यसर्थ उसको राजनैतिक सम्बन्ध निकै फराकिलो थियो । आज एलएन राजगुरुघरानाको कुन ग्रन्थी हो कुन्नी खुबै भड्किएको थियो । उनी एकैचोटी पट्किए ‘यी विश्वेश्वरका भरौटेहरुले राष्ट्र खत्तम पारे ।’ आज भने रामप्रसाललाई अलि झोकै उठ्यो– उसले अलि जोड दिएर भन्यो ‘होइन, एलएनज्यू ! यस प्रणालीमा त कम्युनिष्ट र हिजोका पञ्चहरु पनि त राजनीति गरिरहेछन्, विचरा स्वर्गे भइसकेका बीपीलाई किन यत्रो दोष ?’ तर एलएन राजगुरुघरानाको व्याख्या भने अलग थियो ।
जो सुकै जे सुकै दलको कुरा गरोस् बहुदलको कुरा मानेपछि त्यो बीपीकै अनुयायी भइगयो । यसर्थ कांगे्रस, कम्युनिष्ट, हिजोका पञ्च सबै आज बीपीवादी नै हुन् । विश्वेश्वर भनेको अर्काको खान्दानसँग द्वेष राख्ने मान्छे हुन् । जन्मैले मानिस राजा, गुरु, रंक भएको हुन्छ । उनले सबै राजा रजौटाहरु विर्तावालहरु र धनीमानीलाई देखि सहेनन् । परम्परालाई उखेलेर फ्याक्ने एक मात्र लक्ष्य साधना गरेका बीपी कोइराला आफैं उखेलिनुप¥यो । स्व. महेन्द्रबाट राष्ट्र र परम्परालाई प्रश्रय दिने चेष्टा भएको हो । खोसिएका राजामध्ये ३÷४ को भत्ता र सान शौकत फिर्ता पनि गरिबक्सेको हो । तर आज फेरि त्यही गल्ति दोहोरिदैछ ।
मानिस पढेर र विश्व देखेर मात्र फराकिलो हुदोरहेनछ । त्यसको जिउँदो उदाहरण थिए एलएन राजगुरुघराना । यो दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तर उनलाई संसारका ठूला मानिस भनेका केवल गलकोटे, भीरकोटे भुरे टाकुरे राजा रजौटा, तिनका गुरुपुरोहित, ढोके, हुक्के र सन्तान दरसन्तानलाई सलाम ठोक्नेहरु मात्र हुन् । काठमाडौंका घरानिय भनाउँदाहरुमा अनौठो ग्रन्थी छ । उनीहरु देशका औषत नागरिकहरुभन्दा आफूलाई अब्बल दर्जाको सम्झन्छन् । राजघरानाहरुमा कुनै न कुनै किसिमको सम्बन्ध आफ्नो कुलको रहेको कुरा प्रमाणित गरी आफू हिङ नभए पनि हिङ बाँधेको टालो भनी गर्व गर्दछन् । यसले हिङवाधेको टालो हो वा टालो च्यातेको थाङ्नो हो धेरैवटा एलएन राजगुरुघराना जन्माएको छ । वास्तवमा यो झत्तो भनौं वा थाङ्नो संस्कृति हो । यो थाङ्नो संस्कृति काठमाडौंका घरानियाहरुको पहिचान हो । थाङ्नो संस्कृतिको दुर्गन्धले केही परपर हट्यो भने त्यसलाई आफ्नो प्रतापको विजय भनेर ढोंगमा खुशी हुने परम्परा छ यहाँका मानिसहरुको । आज रामप्रसादलाई त्यही थाङ्नो संस्कृतिको दुर्गन्ध आइरहेको थियो । एलएन राजगुरुघरानाको प्रत्येक लवजबाट ।
एलएनको बेलि विस्तारको अर्थ कहाँनेर टुंगिने हो र के सम्झौता गर्नुपर्ने हो, रामप्रसादलाई थाह भइरहेको थिएन । तर यसका निमित्त पनि उसले धेरै बेर पर्खन परेन । एलएनजीले प्रष्टसाथ भनीहाले उप्रान्त भाडा चार हजार बुझाउनुपर्ने भयो । मरिसकेका बीपी माथिको यत्रो प्रश्न अन्ततः रु. ५०० (पाँचसय) मा टुंगियो । तर एलएनका उपकथा भनै अझै छन् ।
राप्रसादको छोरो पनि भयो । समय पनि अलि महिना बित्यो । आज फेरि एलएनबाट बोलावट भयो । एलएनको बैठक कोठामा अलि हल्ला भइरहेथ्यो । रामप्रसाद बैठकमा पस्यो । ५ जना बसेर ‘मेरिज’ खेलिरहेका रहेछन् । एलएनले परिचय गराउँदै भने ‘ए ! रामप्रसाद नमस्कार गर । उहाँ अभिमानसिंह बस्न्यातको सन्तती, उहाँको एघारौं पुस्ता र अभिमानको तेस्रो पुस्ता ठ्याक्कै जोडिन्छ । उहाँका काकाले कस्मीरका राजा करणसिंहको साइनो पर्नेसँग विवाह गरेका छन् । उहाँको नाम ऋक्षेश्वरमान सिंह बस्न्यात । उहाँ पार्थिवेश्वरमणि दीक्षित, उहाँका ससुराली काशी नरेशका पुरोहित हुन् । उहाँ मान्यवरसिंह थापा अमरसिंह, भीमसेन, माथवरसिंह थापाहरुको खान्दान । उहाँका बाजेले प्रतापगढका राजघरानामा सम्बन्ध गास्नु भएको थियो । उहाँ हेरम्वनरसिंह कुँवर जंगबहादुरका पिता वालनरसिंह कुँवरका काका नै उहाँका पुर्खा थिए । उहाँकी जिजुमुमा पञ्जावका नरेश रणजीत सिंहकी ठूलीआमाकी नातिनी थिइन् । चारै जनाको वंश महिमा सुनाएपछि एलएनले उसको परिचय गराए– ‘ऊ भाइ आरपी के क्षत्री कलंकीका नृसिंहबहादुर वषतिका ज्वाइँ ।’ बल्ल यत्रो विविध विरुदावली पश्चात कुरा खुल्यो रामप्रसालाई बोलाएको । … कुरा के परेछ भने मेरिजको ठिनी रहेछ पचिस पैसा । चानचुनको अभावमा कहिले काहिँ गठबढ पर्दोरहेछ । एकदुई प्वाइन्टको तलमाथिले निकै मार्का पर्छ यसर्थ एलएनजीलाई चाहिएछ चानचुन । तर यो जमानामा मकैको गेडाले पनि मिल्न नसकेको तासे हिसावलाई काम लाग्ने चानचुन पैसा विचरा रामप्रसादले कहाँबाट निकालोस् । चानचुनको अभावमा कुरा निकैवेर अड्कियो । बल्लबल्ल ‘बीसको माल सो’ गरेर एलएनजीले हिसाव मिलाए । तै पनि उनलाई ४ प्वाइन्ट घाटै लाग्यो । अन्ततः खेल उठ्यो । काठमाडौंका खान्दानीहरुको खेल यस्तै हुन्छ ।
सबैलाई बिदा गरेपछि एलएनले कुरा खोले– अब डेरा परिवर्तन गर्नुपर्ने भयो । तर किन यसको उत्तर छैन । रामप्रसादको छोरा भएपछि एलएनजी मात्र होइन उनकी पत्नीको पनि ‘मुड’ कहिल्यै ठीक भएन । अन्ततः केही लागेन रामप्रसाद डेरा स¥यो । डेरा सर्नासाथ लक्ष्मनियाँ हराई । १४÷१५ वर्षकी केटी हराउनु निकै तनावको कुरा थियो । उसले घरमा खबर ग¥यो । पुलिसलाई जानकारी दियो, केही पत्तो भएन ।
कुरा दुई वर्षपछि खुल्यो । जब एलएनजी लगाएका दाँत र रंगाइएको कपलमा छोटो जिन्स पाइन्ट र भेष्ट लगाएकी थाइकट केस विन्यास गरेकी लक्ष्मुनियाँसँगै भैरहवामा देखा परे । एलएनले हतारहतार भने रामप्रसाद मेरो पनि छोरो भयो नि, यी, यिनी चाहिँ लिलेश्वरी । रामप्रसादका घरमा काम गर्ने लक्ष्मुनियाँ एलएन राजगुरुघरानाकी लिलेश्वरी भइछ । रामप्रसादले छोराको नाम सोध्ने विचार गरेथ्यो तर त्यतिञ्जेलमा एलएन राजगुरुघराना रिक्सा चढेर कतै लागिसकेका थिए ।
रचनाकाल ः २०५२

Leave a Reply

Your email address is required but will not be published.