KOSHI HIGH DAM-1

कोशी उच्चबाँध–१
अरुणकुमार सुवेदी
गत हप्ता कोशी उच्चबाँधसम्बन्धी दुईवटा समाचार र एउटा विचार आयो । गत केही अंकमा निरन्तर लेखिँदै आएका भारतको रिभर लिंकिङ परियोजनामा कोशी उच्चबाँधसम्बन्धी उल्लेख सुरु गरेकोमा पाठकहरूका तर्फबाट पनि जिज्ञाशाका मेलहरू आए । यसर्थ यो लेख कोशी उच्चबाँधमै केन्द्रित रही यसको भारतीय नदी लिंकिङ परियोजनामा कस्तो सम्बन्ध छ भनी विश्लेषण हुनेछ ।
कोशीमा बाँध बाँधी नेपाल र भारतमा बाढी नियन्त्रण गर्ने र सिंचाइको विकास गर्ने कुरा नयाँ होइन र २०११ सालदेखिको विवादको विषय पनि हो । भीमनगरमा भारतले बनाएको बाँधले नेपाललाई घाटा भयो, सीमा क्षेत्रमा बनाई उसको मात्र फाइदा हे¥यो, हेपेर बनायो यस कारण राष्ट्रियता माथि अतिक्रमण भयो भनी त्यही समयदेखि भारत, त्यो समझौतामा हस्ताक्षरकर्ता मातृकाप्रसाद कोइराला र त्यस परियोजनामा असंलग्न रहेको नेपाली कांगे्रससमेतले खुबै आलोचित हुनुप¥यो । एकथरि कम्युनिस्टहरूले त राल्फाली गीत बनाई गाएर पनि हिँडे । तर, अब कोशी ब्यारेजको आयु सकिएको छ । त्यसको विकल्पमा धेरै पहिलेदेखि अध्ययन भइरहेको चतरामा बनाइने भनिएको कोशी उच्चबाँध भारतले प्रस्ताव गरेको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनलाई नेपालसँग सम्झौता भए अनुसार भारतले बजेट पनि निकासा गरी प्राविधिकहरूको टोली त्यस क्षेत्रमा पुग्दा स्थानीयहरूको विरोधका कारण कुनै काम हुनसकेन । त्यहाँ डीपीआरको काम अगाडि बढ्न नसकेपछि नेपालको एउटा टोली वार्ताका लागि भारत जाँदैछ । यसैबीच रत्नसंसार श्रेष्ठको लेख आयो । कोशी बाँधको आयु सकिएकाले कोशी उच्चबाँधका लागि भारत व्यग्र छ भनी ।
कोशी उच्चबाँध सम्बन्धमा आजसम्म नाफा÷नोक्सानको यथा विश्लेषण गरी नेपालले कुनै कुरा सार्वजनिक गरेको छैन । यसले गर्दा सामाजिक, राजनीतिक रूपले क्रियाशील व्यक्तिहरूलाई पनि ठोस धारणा बनाउन अप्ठेरो परेको छ । यस्तो आमचासोको विषयमा र सुदूर भविष्यसम्म असर पार्ने योजनाका बारेमा यस्तो ‘कन्फ्युजन’ राम्रो होइन । यस कारण यसबारेमा आमजनतामा पनि ठोस अवधारणा बनाउन सहज होस् भन्ने उद्देश्यका साथ यो लेख लेखेको छु ।
पहिलो कुरा कोशी बाँधको आयु सकिएकाले उच्च बाँधका लागि भारत अत्यन्त व्यग्र छ भनी रत्नसंसार श्रेष्ठले लेख्नुभएको छ र यसै दृष्टिकोणमा केही अरू पनि विचार आइरहेछन् । निश्चय पनि ठूलो जनसंख्यालाई बाढीको जोखिमबाट बचाउनुपर्ने दायित्व भएको र आफ्नो दृष्टिकोणमा कुनै अलमल नभएकोले भारत ठोस प्रस्तावका साथ आउनु स्वाभाविक हो । तर, भारत व्यग्र छ भनी हामी भाउ खोजी बस्नु आफ्नो हितमा छ कि छैन विश्लेषण गर्नैपर्ने विषय हो । आयु सकिएको कोशी बाँध भत्काउनुपर्ने स्थिति आयो भने भारतले आफ्नो क्षेत्रमा तटबन्ध गरी बाढी व्यवस्थापन गर्न केही न केही त गर्ला, ऊ सक्षम पनि छ तर महेन्द्र राजमार्गको मुख्य पुल नै सकिएपछि नेपालको त ‘लाइफ लाइन’ नै भत्किन्छ । यसप्रति हामी कति सम्वेदनशील छौं, हामीचाहिँ व्यग्र हुनुपर्ने हो कि होइन ? तर त्यसप्रति हामी यथेष्ट सम्वेदनशील देखिएका छैनौं । कोशी सम्झौतामा राष्ट्रियता माथिको अतिक्रमण देख्ने आँखाहरूले अब बाँध माथि सारिने, नेपालले बिजुलीको रोयल्टी पाउने, पूर्व झापादेखि पर्साको ठोरीसम्मलाई पूरा सिंचाइको पानी तथा त्यस बीचका शहरहरू र उपयोगहरूलाई जल आपूर्ति गरेर बाँकी पानी भारत लिएर जाने प्रस्तावलाई कस्तो देख्ने हुन् प्रतिक्षाको विषय छ । तर, यस परियोजनाका तथ्य र सत्यहरूलाई जनसाधारणसम्म प्रचार गरी जनतालाई सुसूचित गराई सकारात्मक सोच दिन चाहिँ नेपाली पक्षले सकिरहेको छैन । यसले पनि हामीहरू आफ्नै लाइफ लाइनप्रति असंवेदनशील भएको प्रमाणित हुन्छ । तथ्यहरूका आधारमा नेपालले लिनुपर्ने नीतिहरूका बारेमा यस लेखमा चर्चा गर्ने कोसिस गरिनेछ ।
प्राविधिक तथ्यांकका आधारमा कोशी उच्चबाँध–
मेरो गतहप्ताको लेखमा कोशी उच्चबाँधबाट पूर्वतर्फ लगिने नहरलाई महानन्द नदीसँग जोड्नेसम्मको प्रस्तावको चर्चा गरियो । समग्रमा धनकुटा जिल्लाको आहाले, छिन्ताङ, सुनसरीको विष्णु पादुका र उदयपुरको मैनामैनीबीचमा बन्ने उक्त बाँधलाई दुईवटा विकल्पमा सोचिएको छ । एउटा २६९ मि. अग्लो र अर्को ३३५ मि. अग्लो । पहिलो विकल्पमा यसमा ९.१३ अर्ब क्युविक मिटर पानी सञ्चयन हुनेछ भने दोस्रो विकल्पमा ११.७ अर्ब क्युविक मिटर । दोस्रो विकल्पमा गएमा यो संसारकै सबैभन्दा अग्लो बाँध रोगुनबाँधबराबरको हुनेछ । कोशी नदीको औषत बहाव २१६६ क्युमेक्स छ अर्थात् एकमिटर गहिरो एक मिटर चौडा कुलो बनाउने हो भने एक सेकेन्डमा बग्ने पानीले त्यो कुलो २१६६ मिटर लामो हुनेछ । यसको अधिकतम बहाव २४२०० क्युमेक्समम्म रेकर्ड गरिएको छ । औषत बहावबाट गणित गर्दा ३३५ मिटर अग्लो बाँध भरिन कोशीलाई ६३ दिन लाग्दछ अर्थात् ६३ दिन कोशीलाई सुकाउँदा बल्ल बाँध भरिने छ । अधिकतम अवस्थामा बग्दा पनि ६ दिन लाग्नेछ । वर्षायाममा आधा पानी छाडेर भर्न थालियो भने पनि करिब एक महिनामा सरोवर भरिने छ ।
सामान्यतया बाढीको याममा कोशी नदीमा १५०००÷१६००० क्युमेक्स पानी बग्ने गर्दछ । यो मात्राको जलस्तर खतरापूर्ण हो । कोशी उच्चबाँध निर्माण भएमा र हिउँदमा कोशी सरोवरको जल सञ्चयन आधा भएमा २४०० क्युमेक्स पानी दुईतर्फका नहरहरूमा छाडेर कोशीको बहावलाई १०,००० क्युमेक्सको अवस्थामा राख्ने हो भने सञ्चयनका लागि ४००० क्युमेक्स अधिरिक्त पानी उपलब्ध हुनेछ । यसका आधारमा सरोवर पूरा भरिनका लागि १७ दिन लाग्नेछ । कोशीमा लगातार १७ दिनसम्म यति ठूलो जलस्तरका साथ बाढी आउने सम्भावना नै हुँदैन । यसकारण यो बाँधको निर्माणले कोशीमा बाढीको भय भने पूर्णरूपेण समाप्त हुनेछ ।
– यसबाट ३३०० मेवासम्म विद्युत् निस्कने छ ।
– यसको पूर्वतर्फको कोशी–मेची महानन्द लिंक नहर ११२.५५ किमि लामो नहर हुनेछ । यसतर्फ १४०८ क्युमेक्स पानी लगिनेछ । जसमध्ये ९८ क्युमेक्स महानन्दमा मिसाइने छ, बाँकी पानीमध्ये २८ क्युमेक्स मेचीको बहाव बढाउन प्रयोग गरिनेछ । अरू पानीलाई १.७५ लाख हेक्टर नेपालको भूमि सिंचाइ गरिने छ भने ३ लाख हेक्टर भारतीय
(विहार)को भूमिलाई सिंचाइ सुविधा उपलब्ध हुनेछ साथै यसबीचका उद्योग र शहरहरूलाई पनि आपूर्ति गरिनेछ । यसको रुट शिवालिंग पर्वतको फेंदबाट हुनेछ ।
– पश्चिमतर्फको नहरलाई कोशी घागरा लिंक नहर बनाइने छ । ४२९ किमि लामो यो नहरतर्फ १०२१ क्युमेक्स पानी छाडिने छ भने अन्तिममा घागराको सहायक नदी गौरामा मिसाइँदा ६७ क्युमेक्स हुनेछ । यसको रुट त्रियुगा हुँदै शिवालिंग पर्वतको फेंदैफेंद कमला, बागमती नदी हुँदै ठोरी (पर्साबाट) भारत पसी गण्डक पार गराई राप्ती, सरयूलाई समेत तराएर गौरा नदी पु¥याइने छ । यसबाट नेपालतर्फ १.७५ लाख हेक्टर, विहारमा ८.१७ हेक्टर र उत्तरप्रदेशमा ०.६७ लाख हेक्टर भूमिलाई सिंचाइ सुविधा प्राप्त हुनेछ ।
यसले कति डुबान होला ?
यस परियोजनाबाट सबैभन्दा बढी डुबानमा पर्ने जिल्ला हो धनकुटा । यसले धनकुटा जिल्लाका लगभग ७० प्रतिशत खोलाखेत डुबानमा पर्नेछ । तमोरको गड्तिरतर्फ आहालेको ताम्राङ (३५०मि) छित्ताङको सिम्ले (२०० मि) मूलघाट, साप्तेनटार (३५०मि) देखि लिएर हंसमोरङ (२९० मि) भैंसे
(३७० मि) र लामीबगर पाँचथर मौवासम्म पूरा सरोबर बन्ने छ । यसले समुद्र सतहदेखि ४८०–५०० मि.उचाइसम्मका भूभाग डुबाउने छ । तमोरका हरेक सहायक खोलाहरूमा १ किमिदेखि ३ किमिसम्मका सरोवरहरू बन्नेछन् ।
अरुणको गड्तिर क्षेत्र पनि त्यस्तै हुनेछ । छिन्ताङको अरुण क्षेत्रका बेसीहरूदेखि लिएर लेगुवा बेल्टारसम्मका सबै खेतहरू डुब्नेछन् र हरेक सहायक खोलामा भोजपुर र धनकुटा दुवैतर्फ ३ किमिसम्मका सरोवरहरू बन्नेछन् । सुनकोशीतर्फ पनि खोटाङको बतासे र उदयपुरको आँपटारसम्मका गड्तिरका बस्तीहरू र खेतहरू डुब्नेछन् ।
तर, यति धेरै डुबान भए पनि कोशी उच्चबाँध यस्ता ठूला बाँधहरूमध्ये सबैभन्दा कम जनसंख्या विस्थापन गर्ने परियोजना हुनेछ । माथिका तथ्यहरूका आधारमा कोशी उच्चबाँधलाई जस्तो र जत्रो सोचेका छौं हामीहरूले त्यो भन्दा अत्यन्त विशालकाय हुनेछ यो बाँध । यो दक्षिण एसियामा मात्र नभएर संसारमै एउटा चामत्कारिक उदाहरण बन्ने छ ।
संसारका ३०० मि. भन्दा अग्ला बाँधहरू
१. रोगुन ताजिकिस्तान ३३५ मि.
२. कोशी नेपाल ३३५ मि.
३. पञ्चेश्वर नेपाल ३१५ मि.
३. न्यूरेक ताजिकिस्तान ३१४ मि.
४. सुङजिङयाङकु चीन ३१२ मि.
५. जिनपिङ्ग चीन ३०५ मि.
६. श्रीशैलम भारत ३०० मि.
दक्षिण एसियाका ठूला बाँधहरू
(सञ्चयनमा)
१. चिसापानी (१०८०० मेवा) नेपाल ६.२ अर्ब क्यू मि.
२. टर्बेला पाकिस्तान १३.७ अर्ब क्यू मि.
३. कोशी (३३०० मेवा) नेपाल ११.७ अर्ब क्यू मि.
४. नागर्जुन सागर भारत ११.५ अर्ब क्यू मि.
५. पञ्चेश्वर (६४००) नेपाल ६ अर्ब क्यूमि
६. तेहरी (२४०० मेवा) भारत २.६ अर्ब क्यू मि.

Leave a Reply

Your email address is required but will not be published.