KOSHI DAM

अरुणकुमार सुवेदी

केही अंक अगाडिदेखि भारतको राष्ट्रिय नदी लिंंकिङ परियोजना, त्यससँग नेपालको सम्बन्ध र नेपालको त्यससम्बन्धी लिनुपर्ने नीतिहरू तथा त्यस सञ्जालमा पर्ने नेपाली नदीहरूको बारेमा लेख्दै आएको छु । यसै क्रममा कोशी उच्चबाँधसम्बन्धी लेख गत दुई हप्तामा लेखिएन । यस अंकमा पनि कोशी उच्चबाँध सम्बन्धमा नै लेख केन्द्रित रहनेछ । तर, यी दुई हप्तामा नेपालको राजनीतिमा यति घिनलाग्दो, डरलाग्दो र उदेकलाग्दो परिघटना घट्यो कि एउटा संवेदनशील नागरिक भएकाले त्यसप्रति अलिकति पनि नलेखी बस्ने धैर्यता नै भएन । यस्तो किसिमले मुलुक जलिरहेका बखत एकोहोरो रूपमा रिभर लिंकिङ र नेपाली नदीहरूका बारेमा लेखिरहँदा वर्तमान वातावरणमा अप्रासांगिक र निरपेक्ष जस्तो हुनपुग्यो । यसर्थ अहिले उदेकलाग्दो राजनीतिक वातावरण गाउँ÷शहरका डरलाग्दा परिस्थिति र एउटा सन्देनशील नागरिकका लागि दुःखलाग्दो अवस्थाका कारणहरूका अन्तर्वस्तुमा संक्षेपमा जाने जमर्को गरेको छु ।


संसारमा नै यस्ता विपद्पूर्ण विवाद र राजनीतिक दुर्गति भोग्ने राष्ट्रहरूको सूची तयार गर्ने हो भने आर्थिक प्रगति गर्न नसकेको गरिब राष्ट्रहरू वा प्रजातान्त्रिक अधिकार कुण्ठित गरिएका सर्वसत्तावाद राष्ट्रहरू मात्र त्यस सूचीमा पर्दछन् । बढी अशिक्षित र धर्मभीरु, राष्ट्रहरू पनि त्यस सूचीमा पर्दछन् । तर, नेपालको उदार प्रजातान्त्रिक अवस्थामा राष्ट्र प्रदेश गरी राम्ररी प्रजातान्त्रिक अभ्यास गरिरहेकै बेला विद्रोहको सामना गर्नुपथ्र्यो र त्यस विद्रोहलाई समायोजन गरेपश्चात् झन मुलुकको स्थिति दुर्गतितर्फ लाग्यो । आज मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा फसिसकेको अभ्यास भएको छ । आखिर यो परिणति किन आयो । कसरी लाखौं युवाहरू दिनहुँ सडकमा विना कुनै संकोच निस्किरहेका छन् । सडक हेर्दा लाग्दछ ८० प्रतिशत युवाहरूको इलम नै सडकमा नाराबाजी गर्नु हो । प्रौढ र पुरातन भनिएको पीडित जात र धर्म निरपेक्ष हुनसक्थ्यो तर आजको साइवर पीडित अझ एक कदम अगाडि गई राष्ट्रसमेत निरपेक्ष भइसक्दा पनि साम्प्रदायिक भड्काउमा फिरिरहेछ ? यो पेचिलो प्रश्नको उत्तर खोज्नैपर्ने हुन्छ । जतिखेर माओवादीहरू जंगलबाट विद्रोह गरिरहेका थिए त्यस बखत एकजना मेरा जर्मन मित्रले मलाई सोधे, ‘एउटा उदार प्रजातान्त्रिक मुलुकमा यति छोटो समयमा विद्रोही कम्युनिस्टहरूले यत्रो शक्ति कसरी आर्जन गर्न सक्छन् ?’ यो राजनीति शास्त्र र समाजशास्त्रले व्याख्या गर्न नसक्ने विषय हो जस्तो लाग्छ । उनको यो पे्ररक प्रश्न धेरै प्रसंगमा मैले उठाउने गरेको छु । आखिर एउटा किशोर÷किशोरी खाउँ÷खाउँ, लाउँ÷लाउँ गर्ने उमेरमा, जीवन सबैभन्दा प्रिय र रमाइलो हुने कालमा किन जीवनकै जोखिम उठाएर मार्न र मर्न तयार भएर जंगल फस्न पुग्यो ? २०४६ सालपश्चात्का नीति अभियन्ताहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने प्रश्न आज पनि यही हो भन्ने लाग्छ । यी प्रश्नहरूको उत्तर खोज्दै जाने क्रममा अन्ततः आर्थिक, सामाजिक कारणमा नै हामी पुग्नुपर्ने हुन्छ । आर्थिक रूपले सम्पन्न र सबैसँग समान हक पाएको एउटा व्यक्तिले कहिल्यै विद्रोह गर्दैन । यो सब कोहीले बुझ्ने कुरा हो । सबै नागरिक समान हुन् भन्ने प्रजातन्त्रको शाश्वत मान्यताबाट शासन गर्ने प्रजातान्त्रिक शक्तिहरूले सबैलाई समृद्धि त परै जाओस् सामान्य जीवनयापनको वातावरण पनि तयार पार्न सकेनन् । मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको स्वप्नशीलता तिनीहरू खास गरिकन नेपाली कांगे्रससँग भएन । परिणाम स्वरूप विगतदेखि आजसम्मका दिनहरू देख्नुप¥यो । त्यही तिनीहरूको दुष्परिणाम स्वरूपको विद्रोहकारी मनोविज्ञानलाई माओवादीले राम्ररी उपयोग गर्न सक्यो । तर, आज त्यही विद्रोही शक्ति सत्तासिन छ तर ती विद्रोहका कारण बनेका नीतिहरू र आर्थिक विकास नहुनु नेतृत्वमा स्वप्नशीलता नहुनु जस्ता कारणहरू यथावत् छन् । अर्थात् विद्रोहको नेतृत्व गर्ने शक्तिको पलायन भयो र विद्रोहका कारणहरू झन् दर्बिला भएर आए । जसको परिणाम नेपाल बहुआयामिक द्वन्द्वमा फस्दै गएको छ । युवाहरू जातीयता र साम्प्रदायिकता वा क्षेत्रीयतामा बहकिन थालेका छन् । संक्षेपमा आउँदा दिनहरू झन् कष्टकर र भयावहपूर्ण हुन सक्छन् ।


यी समस्याहरू भए । यिनीहरूको निराकरण एउटा स्वप्नशील नेतृत्वले आफ्ना सपनाहरूका आधारमा तीव्र आर्थिक विकास गरेर मात्र गर्नसक्छ । यस्तै धेरै सपनाहर मध्ये कोशी उच्चबाँध पनि एक हुनसक्छ । म राष्ट्रलाई नेतृत्व गर्ने सम्भावना भएको स्वप्नशील नेता होइन । एकदम सामान्य चेतनशील नागरिक मात्र हुँ । तथापि मलाई सपना देख्ने लत बसेको छ । यसकारण कोशी उच्चबाँधसँग सम्बन्धित पनि मेरा मिठा सपनाहरू छन् । यी सपनाले नीति र विधि बनाई राज्यलाई नेतृत्व गर्ने सम्भावना भएकाहरूलाई कुनै प्रभाव पार्छ भन्ने पनि मलाई आशा छैन । त्यस परियोजनाको प्रतिफल स्वरूप सुखद भविष्यको संभावना भएका त्यस क्षेत्रका नागरिकहरूलाई पनि यसले कुनै प्रभाव पार्ला भन्ने मलाई लाग्दैन । तथापि म, भावनावश वा स्वान्तसुखाय यी सपनाहरू लेखिरहेछु वा पोखिरहेछु । कुनै नेतृत्व तहको व्यक्तिले कुनै दिन देख्न अवश्य सक्नेछ भन्ने आश भने छ ।


यो विशालतम सरोवरको नाम कोशी किरातेश्वर सरोवर राख्ने सपना छ मेरो । जसको बाँधको पर्खालबाट बनेको सडकमाथि भगवान् शंकरको विशालकाय मूर्ति बनाई त्यही मूर्ति भित्रबाट केवलकारहरू बनाउने सपना छ ।


– ­एउटा केवलकार चतराबन्दरगाह (पोर्ट) कोशी हुँदै टप्पु आरक्षण क्षेत्रको पर्यटनसमेतका लागि महेन्द्र नगरसम्म पुग्नेछ । अर्को केवलकार छिन्ताङ डाँडा हुँदै छिन्ताङ मन्दिरसम्म पुग्नेछ । छिन्ताङ डाँडामा पर्यटकीय होटलहरू हुनेछन् । महेन्द्रनगर पनि पर्यटकीय वासस्थान हुनेछ ।
– चतराबाँधदेखि उदयपुरको घुर्मीसम्म ड्रिम यातायात चल्नेछ ।
– तीनैवटा सरोवरका सहायक खोलाहरूका किनारमा रिसोर्ट तथा होटलहरू यत्रतत्र हुनेछन् ।
– तीनैवटा सरोवर क्षेत्रमा फेरीहरू र मोटरबोटहरूबाट जल यातायात सेवाहरू सञ्चालन हुनेछन् ।
– पर्यटनलाई आधारित कृषि तथा पशुपालन व्यवसायहरू सञ्चालनमा आउनेछन् ।
– किनार क्षेत्रमा केजहरू राखी मत्स्यपालन व्यवसायहरू चल्नेछन् ।
– जलगर्भ यात्रादेखि लिएर हिमाली क्षेत्रको दृश्यावलोकन, बराहक्षेत्र, छिन्ताङ देवी र हलेसी महादेवसम्मको धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ ।


यस परियोजनाको विकासपछिका मेरा सपनाका केही व्यक्तिहरू छन्–
१. शेरहाङ लावती, शेरहाङ मौवा पाँचथर होटल व्यवसायी हुन् । मौवा लामी बगरमा उनको चारतारे होटल छ । चतराबाट आएका फेरीहरूको अन्तिम बिसौनी र तमोर एवं कावेली क्षेत्रका विद्युत परियोजनाहरू र जनसंख्या क्षेत्रमा जाने केवल वे हरूको अन्तिम बिसौनीको संगम स्थल हो लामीमगर । यस कारण उनको होटल असाध्यै चल्दछ । आज कोशी किरातेश्वर सागर क्षेत्र होटल एसोसिएसनको साधारणसभा छ, उदयपुरको घुर्मीमा उदयपुर घुर्मीको पाँचतारे होटलमा हुने साधारणसभाको उद्घाटन प्रधानमन्त्रीले गर्दैछन् । उनी बिहानै उठेर तयार भए । अफ्नो निजी मोटरबोट लिएर उदयपुरतर्फ लागे उनलाई आँपटारमा मोटरबोट छाडी ट्राम चढेर १ बजे घुर्मी पुग्नुछ । आफ्नो ल्यापटपबाटै अनलाइन रही होटलको व्यवस्थापन र सञ्चालन गर्दै आजको साधारणसभामा पेस गरिने कोषाध्यक्षको प्रतिवेदन पनि यही समयमा अन्तिम रूप दिइसक्नुपर्ने छ । आज उनलाई निकै ठूलो बोझ छ ।


२. नन्दन गच्छदार महेन्द्रनगरका ट्राभेल एन्ड टुर्स चलाउने व्यवसायी हुन् । आज उच्च इन्जिनियरहरू, अध्येताहरू फिजिक्स र वातारणका केही विज्ञहरूसहितको अध्ययन टोली दक्षिण अमेरिकी राष्ट्रहरूबाट आउँदैछ । त्यसलाई विराटनगर अन्तर्राष्ट्रिय विमानस्थलमा लिनलाई पुग्नु छ । उनी बिहानै उठी केवलकार चढी चतरा आउँछन् र चतराबाट रेल चढी विमानस्थल पुग्दछन् । तिनीहरूले बराह क्षेत्रबाट विभिन्न स्थानको जलगर्भ यात्रा गरी विभिन्न अध्ययन गर्ने छन् । यो परियोजनाको इञ्जिनियरिङ चमत्कारको अध्ययन गर्नेछन् । यो समूह नै यस वर्षको अन्तिम समूह हो उनको । यसको आयसहित यस पालिको टर्न ओभर रामै्र हुनेछ । उनी मनमनै हर्षित हुन्छन् र सपरिवार अफ्रिकाको जंगल सफारी जाने योजना बनाउँदै केवल वे स्टेसनतर्फ लाग्दछन् ।


३. रूप सिंह माझी मेरा सपनाका मत्स्यकिसान हुन् । खोकु बैंसीमा सप्तशरमा कार्यालय राखी उनी मत्स्यपालन गर्दछन् । खोकुदेखि जरायोटारसम्म उनका मत्स्य ‘केज’ हरू छन् । आफ्नो रेफ्रिजरेटर मोटरबोटहरूलाई वितरण गर्नपर्ने होटल र रेस्टुरेन्टहरूको सूची दिएर उनको आजको व्यापार सुरु भएको छ । पूरा सरोवर क्षेत्रका होटल र रेस्टुरेन्टहरूमा उनका माछा बिक्री हुन्छन् । यसपटकको उनको टर्नओभर ठूलै भयो । आफ्नो कम्पनीकी लेखा अधिकृत मैया सुन्चौरीलाई एक करोड त्रैमासिक कर भुक्तानीको चेक जारी गर्ने आदेश दिँदै अफ्नो घुम्ने कुर्सीमा एक चक्कर घुमेर पाइप सल्काउँछन् ।


४. उत्तम उपाध्याय चतरामा वधशाला सञ्चालन गर्दछन् । उनलाई रातको ३ बजेपछि फुर्सदै छैन । यत्रो पर्यटकीय सरोवर क्षेत्र, चतरा र धरानसम्म उनको नै एकछत्र व्यापार छ । उनले यसपटक मात्र

४ अर्बको कारोबार गरे । अफ्नो प्रमुख कार्यकारी अधिकृत लेखमान लुंगेलीलाई सबै जिम्मेवारी दिई उनी एक महिनाका लागि अस्टे«लिया यात्रामा सपरिवार जाँदैछन् ।


५. सुचिमा वान्तवा घडियाल र डलफिन किसान हुन् । उनका शौक नै अचम्मका छन् । हंसनपुर (भोजपुर) मा उनले ठूलो घडियाल फारम चलाएका छन् । घडियालको मासु मात्र उनले दुई अर्बभन्दा बढीको परिमाणमा चीनतर्फ निर्यात गरिन् यसपाली । यसको छाला भने इटलीतर्फ निर्यात गर्दछिन् । त्यति मात्र होइन यसको मासु त अंगअंगको अलग अलग मूल्य । यसको जिज्ञाशा राख्ने स्वदेशी पर्यटकलाई उनी व्याख्या गर्दछिन् । उनलाई आज अलि हतार छ । फलाटे रूपाटार (धनकुटा) को डल्फिन फारमको दृश्यावलोकन तथा डल्फिनसँग क्रीडा गर्ने उद्देश्यले रसियन पर्यटकहरूको टोलीलाई उनले स्वागत गर्नुपर्ने छ । यस कारण हतार हतार उनी आफ्नो निजी मोटरबोट लिई अरुण सरोवरतर्फ लागिन् ।


६. नेत्र तितुङ र विश्वेश्वर श्रेष्ठ यस क्षेत्रका नामी पर्यटक व्यवसायी साझेदारहरू हुन् । तीनैवटा सरोवरहरूमा फ्लोएटिङ होटल चलाउने ठेक्का यिनीहरूको छ वर्षांैदेखि । सफा पानीका सुन्दरसरोवरका बीच बीचमा तैरिएका होटलहरूमा रात बिताउन संसारभरिका मानिस आउने गर्दछन् । भारतका प्रमुख शहरका धनाढ्य तथा मध्यमवर्गकाहरूको ‘हनिमुन स्पट’ बनेका ती होटलहरूको त ख्याति नै अलग । यसपटकको टेन्डरमा कोशी किरातेश्वर सागर प्राधिकरणलाई रोयल्टी मात्र एक अर्ब दिने कबोल गरेका थिए उनीहरूले ।

Leave a Reply

Your email address is required but will not be published.