KHADANANDA BAJE

खडानन्द बाजे
अरुण कुमार सुवेदी
नाम षडानन्द तर अपभ्रंश भएर खडानन्द भै सकेको छ, उमेर ६०को वर पर, व्यवसाय कृषि तथा पशुपालन, जात जैशी ब्राह्मण परिवार पति पत्नी मात्र, पत्नी देवकी, उमेर ५५वर्षको यता उता ।
नाम असारमाया वा असारी, उमेर बाइस÷ तेइस, व्यवसाय कृषि भनौ कृषि मजदुर बनिबूतो,  परिवार पति पत्नी मात्र, पति नरबहादुर वा नरे, उमेर २५÷ ३० वर्ष ।
सदा झैं आज पनि असारी एक भारी घाँस लिएर आई । इरु लहराको घाँस बस्तुले राम्ररी खान्छन । खडानन्द बाजेलाई निकै खुसी लाग्यो । असारीले घाँस राम्रो ल्याउने गर्छे । आफ्नो दाँत अंगारले मस्काउँदै खडानन्द बाजे –“ ए असारी राम्रो घाँस ल्याइछस् । पख म नुवाउँछु अनि जानु, गोठमा कोही छैन ।” असारी छक्क पर्छे “नुवाउँनु भन्दा अगाडि बाहुनले अंगार खानु पर्छ कि क्या हो ?”
“ए मोरी दाँत माझेको पो त अँगार खा’को हो त । हेर तेरो दाँत दाँतेगूहुले पहेंला भैसकेका छन् । तँ पनि माझ, भारी बिसाएर । ला  यस्ले मस्काए पनि हुन्छ” , छेउमा भएको पैलेटीको दतिउन भाँचेर ढुंगाले कुटेर खडानन्द बाजेले असारीलाई दिए । असारी दाँत मस्काउन थाली । “छ्या कस्तो गनाउँदो रहेछ ।” “ए यस्ले दाँत किरा लाग्न पनि दिदैन, ऐले म ऐनामा देखाईदिउँला अनि छक्क पर्छेस्, तेरा दाँत कस्ता राम्रा हुन्छन् ।” खडानन्द बाजे स्नान गर्नका लागि दौराका तुना फुकाल्दै भन्छन् ।
असारी कुल्ला गर्दै भन्छे – “यो बाहुनहरु पनि बनमान्छे जस्तै हुन्छ । डँडाल्नुमा पनि भुत्लै भुत्ला ।” हो पनि खडानन्दबाजे भुत्लामा बनमान्छेभन्दा कम पनि थिएनन् । केश र दाह्री मात्र सेतै हैन छाति पनि सेतै थियो हात खुट्टा पनि सेतै थिए फुल्या भुत्लाले । “हाम्रो राई लिम्बुको जस्तो सफा पो हुनु पर्छ ।” “अँ ! मेरा भुत्ला हेरि रह तँ, मलाई पनि थाहा छ, तिमीहरु सबै खुइलिएका हुन्छौ कि भुत्ला हुन्छन् भन्ने कुरा ।” असारी खित्का छाडेर हाँस्छे । खडानन्द बाजे स्नान गर्न थाल्छन् –
“गंगेश्च यमुनेश्चैव गोदावरी सरस्वती…………   ………………..”
खाँडीको कौपिन, बाक्लो, पानी छिर्नै गाह्रो, पानी खन्याउन्जेल छिन छिनमा कस्नु पर्ने । तर हिउँदको दिन धेरै बेर नुवाउन नै गाह्रो । असारी ढुंगामा बसेर हेरिरहि । बाजेले छिनमै नुवाएर सके र काम्दै धोती फेरे । अंखोरामा पानी बोकेर बाजे अगि अगि हिंडे र असारी घाँसको भारी बोकेर पछि पछि । याक्सा (गाृेठ)मा पुगेपछि बाजेले पहिलो काम नै असारीलाई ऐना देखाउँने गरे । आफ्नो पूजा कोठाको ऐना ल्याएर देखाउँदै भने – “हेर तेरा दाँत कस्ता भए ।”
“साँच्चै बाजे राम्रो हुन त बाहुन हेर’ले नै जानेको, बुढा भएर पनि बाजे रातो टीका लाएर ढल्के टोपी ढल्काएर हिड्छ, दिनहुँ न्वाएर ।”
–     “ल थाप मोरी कस्तो बाक्लो मोही छ, मोजसँग खालिस् ।” असारी जर्किन थाप्दै भन्छे – “बाजे पातमा नौनी पनि देऊ न सागलाई भुटुन् ।”
– “हुन्छ, हुन्छ तर तल पेरुङ्गे दहको छेउ छाउमा कस्तो राम्रो खरुकी छ, आफूलाई भिरालेमा उक्लिन नै गाह्रो उक्लिए पनि अडिन साह्रो । लिएर आ’न भोली ।”
असारी मोही लिएर हिंड्दछे । घाम निकै माथि आइसकेको हुन्छ । हिउँदको दिन फिसिक्कै जान्छ, अझै पूजा गरेको छैन । बिहान गोबर सोह्र्नु पर्ने, पाडा बाछा लगाउनु पर्ने, दूध तताउनु, मोही पार्नु र दिनहुँ जसो घिउ खार्नु बाजेलाई भनेसम्म हैरान । उमेर छिप्पीए पछि छिटो छिटो काम गर्न पनि नसकिने । त्यसपछि पूजा गर्यो, भात पकायो, खायो, भाँडा सफा गर्यो । फुकाउन एक छिन ढिलो भएर वर परका वस्तु फुकाएभने बल गरेर दाम्लै चुडाउलान भन्ने डर । पहिले पहिले छाडा छोड्दा पनि हुन्थ्यो तर अब त गहुँ र तरकारी खेति गर्नथाले । गहुँ, खान हुने काउली, बन्दा, आलु सोमबारे लगे हारालुछ बिक्रि हुने । अब त गाई भैंसी पाल्न पनि कठिन नै भयो । बज्यैलाई पनि लिएर आउँ, साँप्रो माथि पिडुलो थपिने । एक त घर रुङ्ने मान्छे छैन अर्का तर्फ बज्यै छिन् आठपाँजे रोगी । यति खेर एउटा सन्तान भए कत्रो भरथेग हुन्थ्यो । निसन्तान हुनु पनि सबै तिरबाट दुखै दुःख । आफू बाँझो हो की बाँझीसँग परियो केही थाहा भएन । खडानन्द बाजे अंगेनामा भात बसाएर आफ्नो नित्य कर्म पाञ्चायन पूजन सुरु गर्दछन् –
आसनम् समर्पयामी, पाद्यम् समर्पयामी …
नमस्तुते व्यास विशाल बुद्धे
फुल्लार विन्द यत पत्र नेत्र …
…………………………..
शशंख चक्रम शकिरिट कुण्डलम्
सपितवस्त्रं शर्शारुहेक्षणम्…
…………………………………..
…………………………………..
कृस्णात्परं किमपि तत्व महंनजाने
त्वमेवमाता चपिता त्वमेव …
…………………………………
आज पनि पूजा स्थलमै बसेर सबै स्तोत्र पाठ गर्न पाइएन । मरे पछि पनि यमदुतले के भन्लान् । तै पनि हतार हतार गर्दै यता र उता गर्दै खडानन्द बाजे स्तोत्र भन्दछन् –
गयो बाल कालको वय पनि उसै बालरसले
यसैरीतले यौवन पनि विति गयो मोह बसले
भयो वृद्धावस्था अझ पनि भँजिदैन मनले
कसो भन्लान ख्वामित् मकन यमका दूतहरुले
………………………………………………..
……………………………………………….
बाजे खाना खान तिर लाग्छन् । मसिनो भात भैंसीको दूध र एक कोसो केरा भए पछि बाजेलाई केही चाहिन्न । कहिले काहीं नूनिलोको छुद्दे जागे साग टिपेर पकाउने हो । हिउँदमा गोठ झार्दा सबैको दैनन्दिनी यही हो पहाडीया जीवनको । अब चाहीं साह्रै गाह्रो भो’ भोलिदेखि त्यै मोरी असारीलाई भाँडा पनि माझेर जाइदे भन्नु पल्र्ला बाजे मनमनै सोच्छन । त्यतिञ्जेलमा खोले कुँडो पनि उसैले पकाएर दिई हाल्छे धेरै हल्का हुन्छ । बाजेलाई अलि शान्ति मिल्दछ ।
आज पनि त्यही क्रम दोहोरियो, बाजे दाँत मस्काउँदै खोलामा पुग्ने र असारी घाँसको भारी लिएर आउने । आज देब्रे लहरा र अरहरी लिएर आइछ । घाँस त छानी छानी ल्याउछे । अरहरीको टाटाले भैंसी दूधालु पनि हुन्छ । बाजे मनमनै गुन्गुनाउँछन् ।
–     “ए बाजे तिमी न्वाउन आए छौ, भारी पनि अलि गह्रौ छ तिम्ले न्वाउन्जेल म बिसाउँछु । यस्तो मध्ये हिउँदमा पनि कति न्वाउन सकेको बाहुनले ।”
–     “र त हामी सुकिला र सफा छौं । हेर तरुनी हुँदा पनि घाँटी भरी मयल, जिख्रिक्क कपाल, राम्री हुनु पर्दैन,  तँ पनि नुहा ।”
– “आच्या तिम्रो पो  लँगौटी छ र न्वाउँछौ, म नाङ्गै न्वाउनु, तिमी चै हेर्ने, हामीलाई लाज लाग्दैन कि क्या हो, सरम छाडा बूढा”  असारी रिसाई ।
–     “हैन ऊ त्यो माथिल्लो कुना भित्र पसेर न्वा’न, दह पनि छ ढुंगामा बसेर बेस्कन न्वा’ म यहाँ न्वाउँछु । यहाँबाट देखिदैन नि त । तलाई नांगी हेरेर पो मलाई के पाउनु छ ।” बाजेले झर्केको स्वरमा जवाफ दिन्छन् ।
असारी खोलाको मास्तिर लाग्छे । बाजे त्यहीँ न्वाउन थाल्छन् ।
“गंगेश्च यमुनश्ेचैव गोदावरी सरस्वती ……………………..”
“कति महिना पछि असारी न्वाउन पसेकी छ, त्यो पनि साबुन बिना, के मयल जाला । भोली साबुनले न्वाउन लाउनु पर्ला ।” उनी लुगा फेर्न थाल्दछन् । आज अलि धेरै बेर नुवाएँ, सर्दी पो लाग्ला कि । बाजे काम्दै स्तोत्रहरु फलाकी रहन्छन् । आज बाजेलाई बेग्लै स्फूर्ती जागे झैं भयो । असारी पनि नुवाएर आई । कस्ति सेती देखिई असारी । हेर यति राम्री आईमाई सुग्घर सफा नबसेर बिरुप भएकी । बाजे अगि अगि हिंडे र ऊ घाँसको भारी बोकेर पछि पछि हिंडी । बाजेको गति आज निकै तेज भैरहेथ्यो । उनलाई आफ्नो उमेर स्वत्त घटे झैं लाग्यो । के को हो कुन्नी उनमा अपरिमित आनन्द जाग्रत भएर आयो ।  यस्तो आनन्द उनले महसुस नगरेको निकै भैसकेको थियो । २५ ३० को हुँदा एक किसिमको स्फूर्ति महसुस हुन्छ । खडानन्द बाजेलाई आज त्यस्तै भैरहेथ्यो ।
असारी भारी बिसाएर जर्किन लिएर आई मोही थाप्न । बाजेको फुरुङ्ग परेको मन उट्पटाङ भैरहेथ्यो । असारीलाई जिस्क्याउने निउँको खोजिमा थिए बाजे ।
–     “ए बाजे नुवाउन लगाएर ढिलो बनायौ । हरामी रिसाउँछ, त्यत्रो उकालो चढेर गएर भात बनाएर घिचाउनु पर्छ मोरोलाई ।”
– “छोड्देन त त्यस्तोलाई । के कुरेर बसेकी, अर्को तन्नेरी खोजे भै हाल्छ नि, पट्ठी नै छेस् ।”
–“खै कस्ले लैजाला र म अभागीलाई ।”
–“के केटाहरु सबै मरे र ?”
–“ए बाजे पनि, छिटो हालीदेऊ झन् ढिलो बनाईदिन्छ ।”
– “ऐ तेरो बिहे ग¥या कति भयो ? छोरा÷छोरी छैनन् हैन ।”
–     “खै बाजे के हो के हो । मै उस्तो हो की ऊ उस्तो ? भाँडामा नभको कि डाडुमा न आ’को ?”
मोही बोकेर असारी उभो लागी बाजे आफ्नो काममा जुटे ।
अबका दिनहरु उस्तै गरी दोहोरिई रहे । असारीले अब साबुन लाएर नुहाउन थाली, रोज दतिउन लगाउँन थाली, निकै सुकिली मुकिली भएर हिड्न थाली । बाजेको भाँडा मात्र साफ गर्ने हैन, धान सुकाएर कुट्ने सम्म गर्दिनथाली, समय धेरै लागे बिहानको भात उ बाजेकहाँ खान्थी । एक दिन बाजेलाई अलि अप्ठेरो लाग्यो । असारी यता धेर बस्न थाले पछि बिहान उस्ले आफैं भात बनाएर खानु पर्दो हो, लेकको जाडो कहीँ झोकिएर असारीसँग झगडा गर्यो भने फेरी असारी माइत जाली बा हिड्ली अर्कासँग मैले भनेझैं । यो सँझने वित्तिकै बाजेलाई आङ सिरिङ्ग गरे झैं भयो । उनलाई डर पनि लाग्यो । नरे असारीसँग खुसी भएन भने त आपत पर्छ । उनले असारीलाई भने – “ऐ नरेको पनि त विचार गर्नुपर्यो विचरो विहान कति काम गरेर आएर पकाएर खाँदो हो । म अर्को भाँडाहरु पनि घरबाट ल्याउँछु, खाउञ्जेल पर्खनु पर्दैन घाँस लिएर आयो बेलुकाको भाँडा माझ्यो हिडिंहाल्यो गर ।”
“आ छाड्देऊ बाजे हुतिहाराको  कुरा एउटा छोरा जन्माउन हुति छैन हैकम गरेर मात्रै हुन्छ ?” अहिले उस्ले मनको कुरा खोलेरै भनी ।
असारीको कुराले खडानन्द बाजेलाई कहीँ घोचे झैं भयो । उनलाई साह्रै अमिलो महसुस भयो । उनले पनि एउटा छोरा जन्माउन सक्या हैन । वैंस छउञ्जेल बजै खोटी जस्ति पनि थिइनन्, मासिक धर्म भैरहन्थ्यो, उनी आफू खोटो पनि थिएनन् ।  यसै त तीर्थ, ब्रत, भाकल, पूजा, यज्ञ सबै गरेका हुन् तर केही लागेन । उनको ध्यान पुनः खोले चलाइरहेकी असारी तिर फर्किन्छ । असारी नुहाउन त थाली तर कपडा कस्तो मैलो लगाएकी, नभएरै त होला । यस्पाली घिउ बेच्न जाँदा यसैलाई बोकाएर लिएर जाने, नरेले काम गरेर तिरीहाल्छ, असारीले पनि काम गरी हाल्छे, चैत पनि आउँदैछ तौली रोप्नु पर्ने, एउटा लुंगी र चोलो चाहीँ किनीदिनु पर्ला – बाजेले मनमनै सोचे ।
नरेलाई गोठमा राखेर असारीलाई घिउ बोकाएर बाजे सोमबारे हिंडे । बिहानै हिड्यो घाम ढल्के पछि पुगिन्छ । सोमबार हिंडेर त कामै बन्दैन त्यसकारण एकदिन बस्ने गरी आइतबार नै हिड्नु पर्दछ । बिहानै सातु सामल बोकेर हिंडे ।
घिउ पनि भनेजस्तै भाउमा विक्रि भयो बजार पुग्ने वित्तिकै, एकै छिन पनि पर्खनु परेन । आजै सामानहरु किनेर फिर्ने बिचार गरे बाजेले । “हिंड असारी तेरा लुगा छैनन् एउटा लुंगी र चोलो अनि चप्पल किनिदिन्छु, नरे र तैंले काम गरेर तिरे भैहाल्छ ।” असारी यति खुसी भै कि खुसीको सीमा नै रहेन । तर उस्ले चोलो चाहीँ किन्नै मानिन् । उस्ले औंलाले देखाएर भनी “ऊ त्यो लाउँछु ।” “ए भेष्ट, त्यो भेष्ट हो” काले साहुले भन्यो “तर महंगो पर्छ ।”
– “ठीक छ, तिरौंला नि त” बाजेले जवाफ दिए ।
–     “म त बाहुनी केटीहरुले जस्तो बोटिस पनि लाउँछु बाजे ।”
यो कुराले काले साहु मात्र हैन उस्का अरु ग्राहकहरु पनि मरुन्जेल हाँसे । काले साहुले मरेर हाँसो थाम्दै भन्यो “कति नम्बरको ?”
असारी नाजवाफ भै । बाजे पनि चुप लागे । साहुले नै अन्दाज गरेर दिनुप¥यो, दियो ।
उनीहरु फिरे, फिर्दा के के भयो त्यस्को कुरा पछि आउँछ ।
तर यसबीचमा खडानन्द बाजेलाई दशा लाग्यो भन्नु प¥यो उनी पनि रोगले थला परे । अब उनका सामु केही विकल्प थिएन । अब उनले नरेलाई गुहारे । नरे उनकै घरमा बसेर गाउँ बेंसी गर्दिने भयो । असारी र नरे बाजेकै पालीमा सरे । बाजे सोमबारेबाट फिर्नासाथ बिरामी परेका थिए । धामी झाँक्रि, औषधी, जडिबुटी सबै गरे तर बाजे न त उठेर नै केही गर्न सक्ने भए । यसपालीको तौली धान पनि नरेकै भरमा रोपियो । घर पनि असारीकै भरमा थामियो । निमेक तलबको के कुरा रह्यो र एक किसिमले नरे र असारी घरमुली नै भए । बाजेकाहाँ सरेपछि नरेको पनि भाग्य जाग्यो । असारीको भुँडी बैशाख मै अलि अलि देखिन थाल्यो । अब नरेको बोली नै अर्कै थियो । “ल त कस्ले मलाई हुतिहार भन्छ म देखाई दिन्छु” ऊ मनमनै भन्न थाल्यो ।
समय निकै बित्यो एवं रीतले । असारीको छोरो पनि ५÷६ वर्ष भैसकेको थियो । अब आउने साल स्कूल जान्छ भनेर नरे मख्ख थियो । गाउँमा विस्तारै कुरा चल्न थालेको थियो खडानन्द बाजेसँग जग्गा जमीन त छदैछ पैसा पनि निकै छ । बुढा निसन्तान छन् । भाइ माइला पद्यकान्त “दाजु ! क्रिया त मैले गर्नु पर्ला नि कसो” भनी बीच बीचमा सोध्न आउँथे ।कान्छो टीकादत्त पनि दाजुको सामु जहिल्यै आइरहन्थ्यो । अझ उस्ले त एउटा छोरा नै खडानन्दको घरमा राखिदिएको थियो भर अभरका लागि ।
खडानन्द बुढा साह्रै भएको एक हप्ता भैसकेको थियो । उनी बोल्न मात्र सक्दथे । त्यसो त होस थियो तर कम्मर मुनी केही चल्दैन थियो । अब सबैलाई लागिरहेथ्यो बाजेको अन्त्य नजिकै छ । पद्यकान्तले नजिकै आएर सोधे –“अब पञ्च भलाद्मी राखेर दाजु भाउजुको काज क्रिया कसरी कस्ले गर्ने भन्ने छिनोफानो गर्नु पर्ला ।” खडानन्द बाजेले सम्मति दिए ।
पञ्चायती बस्यो बाजेकै दलानमा । माइला पद्यकान्त जिकीर गरिरहेथे दाजुको क्रिया मैले गर्न पाउनु पर्छ र भाउजूको क्रिया तथा पालन पोषण कान्छाले गर्नुपर्छ । कान्छा भनी रहेथे बाबु मरे पछि पालेर कर्म चलाएर विवाह समेत गराईदिने दाजु भएकोले दाजु र भाउजू दुबैको क्रिया गर्ने अधिकार र कर्तव्य उनको हो । दाजुभाइमा कुरा मिलिरहेको थिएन । माइला भनीरहेथे “ठीकै छ उसो भए दाजु भाउजूकै काज क्रिया म गर्छु ।” भलाद्मीहरुलाइ निर्णय दिन बडो मुस्किल परिरहेथ्यो । कुरा मिलाउने हिसाबले विश्वनाथ अर्यालले भने खडानन्द दाइले जस्लाई सम्पत्ति वकस दिन्छन् उसैले सबैथोक गर्नुपर्छ । तर यसकुरामा दुबै भाइको आपत्ति थियो । अन्ततः पुनः अर्को विकल्प सारियो, सम्पत्ति आधि आधि हुने क्रिया पनि गोला हालेर जो पर्छ त्यसको गर्ने । एक जनालाई भाउजू एक जनालाई दाजु । तर यो विकल्प पनि खडानन्दको मञ्जुरी बिना हुन्नथ्यो । यतिञ्जेल सम्म चुप लागेर सुतिरहेका खडानन्द बाजेले ठूल्ठूलो स्वरमा कराए –“ए नरे! मलाई ठाडो पारेर बसा !”
सबै छक्क परे । पक्षघातले थला परेका बाजेमा यत्रो बोली बोल्ने शक्ति कहाँबाट आयो । बाजे ठाडो परेर बसेर निकै ठूलो स्वरमा कराए – “ए मोरा हो ! मलाई अपुत्रो ठानेका छौ ? खत्री भए पनि छोरो छ । सबैलाई लाग्यो पक्षघातले बुढाको दिमाग सठिएछ । बज्यैले भनीन् –“के भनेको यस्तो कुरा जिउँदै नर्क पर्ने ।” बाजे फेरी कराए –“नर्क परे पनि स्वर्ग गए पनि यही अलच्छिनी मात्र बाँझी हो । मेरो छोरो छ । ऐ असारी भन्दे त्यो छोरो कस्को हो ?”
एकैचोटी बज्यैलाई अन्धकारले ठाके झैं भयो उनी रुँदै घरभित्र पसीन् । भरखर मात्र बाजेलाई उठाएर पिँडीको छेउमा गएर बसेको नरे स्तब्ध भयो । नरेले पनि जुरुक्क उठेर भन्यो – “ ए बुढा तँ लाई त्यहीँ काटिदिन्छु, मेरी बुढी हो असारी, जंगे उसैले पाएकी हो । कसरी तेरो छोरो हुन्छ ? बुढो बौलायो कि क्या हो ?” ढिकी माथि बसिरहेकी असारी जुरुक्क उठी र भन्न थाली –“छोराको वाबु हुन त पाइन चाहिन्छ, म अलिच्छिनी हैन तँ हुतिहारा होस् नरे, सोमबारेबाट फिर्दा पेरुङ्घेमा बास नबसेको भए हुन्थ्यो मेरो छोरो ? जंगे बाजेको छोरा हो ।” असारीको कुरा सुनेर नरेलाई चारैतिर अन्धकार लाग्यो । ऊ जुरुक्क उठेर केही नबोली हिंड्यो । कचहरीमा मौनता छायो । फेरी खडानन्द बाजे कराए –“मेरो काज क्रिया कान्छा टीकादत्तले गर्छ, खर्च मेरै सम्पत्तिबाट हुन्छ । शेखपछिको अधिकार जंगेको हुन्छ । कागज तयार पार म सही गर्छु ।”
बज्यै भित्रबाट कराइन् – “कहाँ त्यसरी हुन्छ, म अहिल्यै माइला नानीकाहाँ बस्न जान्छु । आधि अंश मेरो हुनुपर्छ, मेरो क्रिया पनि माइला देवरले गर्छन्, सम्पत्ति पनि उनैलाई बकस दिन्छु ।”
कान्छो करायो – “त्यसो भए मुद्दा पर्छ । आधि सम्पत्ति चाहीँ माल्दाइ खाने म चाहीँ बिटुलिएको दाजुको क्रिया मात्रै गर्ने ।”
असारीले बज्यैको खुट्टा समाउँदै भनी –“बज्यै यस्तो बेलामा बाजेलाई नछाड, जंगे बाजेको छोरा हो मात्र भनेकी पो त म स्वास्नी त हैन नी ।”
बाजेका आँखाहरु सजल भए । जीवनभर साथ निभाएकी देवकी बज्यै मृत्युशैयामा छाडेर हिंडिन् । यौवनकालमा असारी जस्ती स्त्रीको साथ पाएको भए कति सुन्दर हुन्थ्यो होला । लगभग ५० वर्षको दाम्पत्य जीवन विताएपछि देवकी बज्यै आज सबैभन्दा कुरुप लाग्यो बाजेलाई । उनले चण्डिका नारीको सबै माहात्म्यलाई पढेका थिए तर ती कुनै प्रसस्तिले पनि असारीलाई परिछिन्न गर्न सक्दैन थियो । असारी यति उच्च भई की बाजेका लागि उनी सक्दथे भने असारीको पूजा नै गर्दथे । देवकीसँगक् उनले कति बोझिलो जिन्दगी यापन गरेछन्, कसरी यत्रो समय पार गरियो आज विस्फोट हुँदा पो थाहा भयो बाजेलाई ।
यस्तो भाँडियो कि अवस्था कसैले सम्हाल्ने स्थिति नै रहेन । नरे कहाँ हिड्यो, बज्यै माइला देवरकाहाँ लागिन्, बेलुका देखि भाइहरु न उनका छोरा कोही रmङ्न आउन छाडे । दयनीय गति भयो खडानन्द बाजेको । असारी छे, उनी र बालक जंगे । ३÷४ दिनमै कान्छाले मुद्दा पनि हाल्यो ।
आज जैशी टोलमा निकै हल्ली खल्ली बढ्यो । खडानन्द बाजे खसेछन् । खडानन्दको लाशलाई काखमा राखेर असारी रोइरहेकी थिई, जंगे आमाकै छेउमा बसेको थियो । बज्यैले माइला देवरकै घरमा बसेर चुरा फुटाइन अरे, सिंदुर पुछिन अरे । माइलो भाइ पद्यकान्त पनि आएन । कान्छो टीकादत्त भनिरहेथ्यो “अपजातले छोएको लाश हामी काँधीकाठ लाउँदैनौ ।” कान्छाका छोराहरु प्नि बाबुसँगै उफ्रिरहेका थिए । अब चाहीँ भलाद्मीहरुले निकै कडा निर्णय लिनुपर्ने भयो । विश्वनाथ अर्जेलले चौकिबाट असई ल्याउन मानिस पठाए । असई आए र दुबै भाइलाई लाश बोक्न कर लगाए, दुबै भाइलाई क्रियामा हुले । यस प्रकारले भयो खडानन्द बाजेको अन्त्य र अन्त्येष्ठी ।

Leave a Reply

Your email address is required but will not be published.