मेरो आग्रह र स्मृतिमा स्टेफेन हकिङ

एक सच्चा सैद्धान्तिक भौतिक शास्त्री, दार्शनिक, चिन्तक तथा लेखक स्टेफेन हकिङ अब भौतिक संसारमा छैनन् । एक जना सच्चा भौतिकवादीको भौतिक अस्तित्व सकिएको छ । स्टेफेन हकिङको मृत्युमा ‘समवेदना युक्त दैवी उक्तिहरू लेख्न उनकै जीवनभरको प्रयत्न र प्रतिवादित सिद्धान्तविपरीत होला भन्ने लाग्यो ।     यसकारण ‘रेस्ट इन पिस’, स्वर्गवास, श्रद्धाञ्जली केही लेख्न पनि मन मानेन । स्टेफेन हकिङका कृति र प्रतिवादित सिद्धान्तको समीक्षा गर्ने हैसियत यस लेखकसँग छैन । तर, उनका केही कृति विशेषतः उनको ‘मास्टर पीस’ मानिने कृति ‘ब्रिफ हिस्ट्री अफ टाइम’ को पटकपटक अध्ययन गर्दा मलाई लाग्यो उनीप्रति मेरो पनि एउटा धारणा बन्न पुग्यो जसरी उनको भगवत् सत्ताप्रति धारणा निर्धारित थियो । यसैले यो लेख यत्तिमा केन्द्रित गर्न चाहन्छु । अर्थात् भगवत् सत्ताप्रति उनको आग्रह र उनका आग्रहप्रति मेरो धारणा ।
स्टेफन हाकिङले जे जति कृति दिए सैद्धान्तिक भौतिक शास्त्रलाई ती सबै त नपढेको हुँला तथापि जे जति पढे त्यति नै उनलाई बुझ्न भने काफी छ । उनको हरेक व्याख्या र सिद्धान्तको प्राक्सर्त छ – भगवान् अर्थात् ‘गड’को सत्ता छैन तर उनलाई लागेको रोग र यिनताकासम्मको दीर्घ जीवन स्वयं नै भगवत् चमत्कारभन्दा अर्काे विशेषणले बुझ्न सकिन्न । स्टेफेन हकिङमात्र हैन रिर्चडकिन्स, मिचियो काकु सबैले ईश्वरको सत्तालाई चुनौती दिएकै छन् । यसभन्दा अगाडि पनि ईश्वरले कम चुनौती पाएको हैन तर पनि ईश्वर अविच्छिन्न सत्तामय नै मानियो । मजस्ता सामान्य पात्रदेखि अमित गोस्वामी, गेरी जुकाभ, फिजोफ काप्राजस्ता दिग्गज लेखक र भौतिक शास्त्रीसम्मका लागि पनि ईश्वर सत्तासीन
रहिरहेछ ।

Read more: https://baahrakhari.com/news-details/51309/2018-03-21