कतार प्रकरणः अमेरिका र रसियावीच ‘प्रोक्सी वार’

कतारमा नेपालीहरु रोजगारीका लागि ठूलो संख्यामा गएका छन् । यसैले नेपालको चासो स्वाभाविक रुपमा बढी देखिन्छ । तर, कतारको समस्याको दायरामा नेपालको चासो निकै सानो महत्वको विषय हो । यद्यपि यो मानवीयतासँग सम्बन्धित छ ।

कतारले आजको परिणति कसरी बेहोर्नुपर्‍यो भनेर बुझ्न अन्तर्राष्ट्रिय राजनीतिलाई कम्तिमा पनि सन् २००० को सेरोफेरोमा रहेर विश्लेषण गर्नुपर्ने हुन्छ ।

‘तेलको कुवा’ भनेर चिनिने मध्यपूर्वका मुलुकहरुमाथि अमेरिकाले आँखा लगाउँदै आएको पाटो नयाँ हैन । यसका साथै जलनाकाहरुमाथि पकड जमाउने उसको रुचि पनि पुरानै हो । खासगरी दोस्रो विश्वयुद्धपछि बृटिश साम्राज्यको पतनसँगै जब त्यसको उत्तराधिकार अमेरिकालाई प्राप्त भयो, त्यसपछि नै संसारका सम्पूर्ण जलनाका र त्यस्ता रणनीतिक अवस्थिति भएका भूभागहरु तथा महत्वपूर्ण प्राकृतिक स्रोतहरुमाथिको उसको चाख स्थापित हुँदै आएको हो । मध्यपूर्वमा यी दुइटै चाख भए ।

बेलायतका एक जना भूराजनीतिक विश्लेषकले भनेका छन्, ‘पाइभोट ल्यान्ड’ (आधार भूमि) र जलनाकालाई जसले नियन्त्रण गर्छ, उसैले साम्राज्य कायम गर्छ ।’

लेखक म्याडिसिनले फ्रान्सका राष्ट्रपति म्याक्रनलाई अमेरिकाको काठको घोडाको संज्ञा दिँदै ‘इलिसी प्यालेसमा अमेरिकाको काठको घोडा बसेको छ’ भनेर लेखेका छन्

भूराजनीति भन्ने शब्द नै उनले अघि सारेका हुन् । पाइभोट ल्यान्ड भनेको पूर्वी युरोप र मध्य एसियालाई भन्छन् । त्योसँग सम्बन्धित जलनाकाहरुमाथिको नियन्त्रणलाई उनले इंगित गरेका हुन् । अर्को चाहिँ तेल र प्राकृतिक ग्याससँग सम्बन्धित कुरो भयो ।

यसका लागि सूचना विश्लेषण गर्न र त्यो ठाउँमा वर्चश्व कायम गर्न अमेरिकाले अन्तर्राष्ट्रिय राजनीतिमा के-के गरेको छ र कसरी हस्तक्षेपकारी भूमिका खेलेको छ, यसको लामो सिलसिला छ ।

रसियालाई घेर्ने अमेरिकाको तेल राजनीति

कतारकै विषयमा केन्द्रित हुँदा सन् २००३ तिर फ्रान्समा एकजना अत्यन्तै मेधावी व्यक्ति रूथ चाइल्ड समूहको बैंकिङ क्षेत्रमा काम गर्थे । उनलाई रातारात सरकारमा ‘ट्रेनी इम्प्लोई’ का रुपमा लगियो । उनलाई धेरै अधिकारसम्पन्न सचिव पदको जिम्मेवारी दिइएको थियो । त्यसबेला ठूलो मोबाइल फोन सेवा प्रदायक कम्पनी थियो, गेम प्लस । त्यो कम्पनीको सूचना प्रविधि प्रणाली र मोवाइल मध्यपूर्व र इरान लगायत मुलुकहरुमा अधिकांश उपल्लो स्तरसम्म चल्थ्यो । अहिले त्यसबारे अनुसन्धान पनि भइरहेको छ । भर्खरै एकजना प्रसिद्ध लेखक वेन म्याडसेनले  एउटा आलेख पनि लेखेका छन् ।

इरान लगायत मध्यपूर्वमा पहुँच भएको गेम प्लस कम्पनीलाई अमेरिकी कम्पनीको मातहतमा लिएर जान फ्रान्समा ती सरकारी कर्मचारीले काम गरे । ती कर्मचारी अरु कोही नभई अहिलेका फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रन हुन् । त्यसैको फलस्वरुप म्याक्रोन राष्ट्रपतिको उम्मेदवार हुनेबित्तिकै अमेरिकाले उनलाई जिताउनुपर्छ भनेर अपिल नै गरेको थियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा अाफू राष्ट्रपति भएकैबेला  म्याक्रनलाई जिताउन आह्वान गर्दै वक्तव्य दिएका थिए ।

लेखक म्याडसेनले फ्रान्सका राष्ट्रपति म्याक्रनलाई अमेरिकाको काठको घोडाको संज्ञा दिँदै ‘इलिसी प्यालेसमा अमेरिकाको काठको घोडा बसेको छ’ भनेर लेखेका छन् ।

गेम प्लस कम्पनीलाई पछि अमेरिकी कम्पनी टीपीजीले किनेपछि त्यसको नाम गेवाल्टो भयो । गेवाल्टोले मध्यपूर्वको सारा मोबाइल नेटवर्किङमा महत्वपूर्ण स्थान लियो । त्यसको सारा डाटा विश्लेषणबाट अहिलेको स्थिति आयो भन्ने बुझाइ छ ।

कतारले अमेरिकाको योजना अन्तर्गत सिरियामा पनि काम गरेकै हो । सिरियामा किन हस्तक्षेप गरियो भने, युरोपको एउटा ठूलो कमजोरी छ । त्यो के हो भने, युरोपभरि रसियाबाट प्राकृतिक ग्यास पाइपलाइनबाट अापूर्ति हुन्छ । त्यसको युरोपसँग अाजसम्म कुनै विकल्प नै छैन ।

यसको विकल्प के हुन सक्छ भनेर अमेरिकीहरुले अध्ययन गरे । कुवेत भनेको तेलमा मात्र हैन, मध्यपूर्वमा प्राकृतिक ग्यासमा सबैभन्दा धनी देश छ । कुवेतको सामुद्रिक इलाका र भूइलाका दुवैमा जुन प्राकृतिक ग्यास पाइन्छ, त्यसलाई साउदी अरेबिया, जोर्डन हुँदै टर्की अनि पूर्वी युरोप र पश्चिम युरोप लैजान सकिन्छ भन्ने अमेरिकीहरुको निश्कर्ष छ । तर, यो बाटोको बीचमा सिरियाको भूभाग पार नगरी नहुने अवस्था छ । वारिपट्टि ल्याउँदा इरान पर्छ । इरान र सिरिया पश्चिमाहरुका शत्रु राष्ट्र हुन् ।

सिरियामाथि पश्चिमा मुलुकको आक्रमणका अरु धेरै प्रकरणमध्ये यो प्रकरण पनि जोडिएको छ । सिरिया र इरान रसियाको सैन्य मिसनमा मिसिँदै आएका छन् ।

रसियामाथिको अर्को दबाव के थियो भने, रसिया ठूलो देश भए पनि पूर्वतर्फ रहेको प्रशान्त महासागरसँग उसको जुन सामुद्रिक किनारा छ, उसका लागि त्यो त्यति ठूलो आर्थिक महत्व छैन । रसियाको बढीजसो जनसंख्या पश्चिम भाग अर्थात् युरोपतिर छ । त्यो जनसंख्यालाई उसको जति पनि व्यापार छ, त्यो व्यापार ‘ब्ल्याक सी’ बाट चल्छ ।

‘ब्ल्याक सी’ बाट सी अफ मरमरा, जो टर्कीको टेरिटोरियल एरियामा पर्छ, त्यसलाई जोड्ने इस्तानबुलमा टर्कीको एउटा बाँध छ, त्यो बाँध बन्द गरिदियो भने रसियाको ‘ब्ल्याक सी’बाट कुनै व्यापार नै हुँदैन । त्यसका लागि उसले फिनल्यान्डको सागरमा पुग्नुपर्ने हुन्छ । अरु ठाउँमा त छँदै छैन । त्यो सामुदि्रक मार्गबाट रसियालाई पनि त्यो दबाव छ ।

टर्की पनि जहिल्यै पश्चिमको दबावमा पर्छ । किनकि ऊ त उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य राष्ट्र नै हो । टर्कीबाट हामी सुरक्षित छौं भनेर अमेरिका र पश्चिमा मुलुकहरुको दृढ विश्वास छ । सिरियालाई हान्यो भने त सक्कियो भन्ने उनीहरुको सोचाइ छ ।

अमेरिकाले सिरियालाई हान्ने क्रममा गुप्त रुपमा इरान र रसियाले पनि आफ्नै प्रकारले भित्रभित्रै योजना बनाइरहेका थिए । कतार भनेको त अल्थानी परिवारको विरासत जस्तो हो । शासक त अल्थानी समुदायको हो नै, त्यहाँको जनसंख्या पनि त्यही समुदायको धेरै छ ।

Continue Read on : https://www.onlinekhabar.com/2017/06/598260#.WUKCo_-CF7k.twitter

Leave a Reply

Your email address is required but will not be published.